Saturday, December 24, 2016

परीक्षामा बढी अङ्क ल्याउन यसरी अध्ययन गरौं.....

#परीक्षामा बढी अङ्क ल्याउन यसरी अध्ययन गरौं.....
तपाईं अहिलेसम्म आफ्नै तरिकाले पढिरहनुभएको छ । प्रत्येक विद्यार्थी आफ्नै तरिकाले पढिरहेका छन् । तर पढाइका यी तरिकाहरूमध्ये केही खास यस्तो तरिका पनि हुन्छ, जसलाई वैज्ञानिक तरिका भन्न सकिन्छ । यस आलेखमार्फत् म तपाईंलाई यस्तै केही व्यावहारिक तरिकाहरूबारे बताउँदै छु । म यहाँ जुन तरिकाको चर्चा गर्न गइरहेको छु, त्यो विद्यालय, क्याम्पस वा लोकसेवा आयोग जस्ता परीक्षाको तयारी गर्ने विद्यार्थीहरूका लागि पनि महत्त्वपूर्ण हुनेछ । अर्थात् यो त्यस्ता विद्यार्थीहरूका लागि हो, जो विषयलाई याद राख्ने र समय आएपछि त्यसको उपयोग गर्ने उद्देश्यले पढिरहेका छन् । म यहाँ अध्ययनको तीन तहको बारेमा चर्चा गर्नेछु, जसलाई जान्नु त्यस्ता विद्यार्थीहरूका लागि धेरै महत्त्वपूर्ण हुनेछ ।
पहिलो तह हो, सूचना । जुनबेला हामी कुनै पनि विषयलाई पहिलोपटक पढ्छौं त्यो सूचनाको रूपमा हाम्रो दिमागमा प्रवेश गर्छ । हरेक प्रकारको जानकारी पहिला सूचना नै हुन्छ चाहे त्यो जानकारी पढेर, सुनेर, हेरेर वा गरेर प्राप्त किन नहोस् । हामी पढ्दै जान्छौं र हाम्रो मस्तिष्कमा सूचनाहरूको थुप्रो लाग्दै जान्छ । यसलाई नै हामीले पढ्नु बुझ्दछौं । वास्तवमा भन्ने हो भने यो सही होइन । यहींनिर हामीले ठूलो गल्ती गर्ने गरेका छौं । जुनबेला हामी सामाजिक अध्ययन विषय पढ्छौं, त्यसको तथ्य धेरै कठिन नभएको हुनाले हाम्रो मस्तिष्कले त्यसलाई सजिलै बुझ्न थाल्छ । यस स्थितिमा हामीलाई के लाग्दछ भने यो त सजिलो विषय हो, अनि हामी सरसर्ती पढ्दै जान्छौं । किनभने विषयवस्तु सरल थियो र नयाँ पनि थियो ।
यस कारण तत्काल त्यो हाम्रो स्मृतिमा रहन्छ । तर, तपाईंले अनुभव गर्नुभएको होला केही दिनपश्चात् विस्तारै तपाईंको स्मृतिमा बादल लाग्न थालेको छ वा कुराहरू एकअर्कामा घुलमिल हुन थालेको छ वा हराइसकेको छ । अध्ययन गर्ने तरिका नजान्दा यस प्रकारको सड्ढट आउँछ । यस्तो सड्ढट आउनुको कारण के हो भने तपाईंले पढेका कुराहरूलाई सूचनाको रूपमा मात्र थुपार्नुभयो । तपाईंले त्यसलाई बुझ्ने कोशिश गर्नुभएन ।
सूचनालाई बुझ्नुको अर्थ त्यसलाई ज्ञानमा परिवर्तन गर्नु हो । प्राय: विद्यार्थीहरूले सूचनालाई नै ज्ञान ठान्ने गल्ती गर्छन् । बीउलाई बिरुवाको रूप दिन त्यसको हेरचाह गर्नुपर्छ, त्यसमा समयानुसार मलजल गर्नु जरुरी हुन्छ । त्यसैगरी सूचनालाई पनि ज्ञानमा परिवर्तन गर्न पढेका कुराहरूलाई दोहोर्याउने, त्यसलाई सम्झने र त्यसमाथि चिन्तनमनन गर्नु जरुरी हुन्छ । त्यसबारे साथीहरूमाझ चर्चा परिचर्चा गर्नुपर्छ । अनि मात्र बिरुवा जस्तै त्यो सूचना पनि ज्ञानमा परिवर्तन हुन्छ । ज्ञानमा परिवर्तन हुनासाथ त्यो विषय हाम्रो दिमागको गहिराइमा बस्दछ । यसलाई यसरी बुझ्न सकिन्छ, सूचनाको अर्थ बालुवामाथि खुट्टाको छाप जस्तै हो, जुन छिट्टै हराएर जान्छ । ज्ञानको अर्थ ढु·ामाथि खुट्टाको छाप हो, जुन रही रहन्छ ।
यहाँ तपाईंलाई के खुल्दुली भइरहेको होला भने सूचनालाई ज्ञानमा कसरी परिवर्तन गर्ने ? यो काम न त कठिन छ, न त जटिल नै । यो मात्र हलुका श्रमले सम्भव हुन्छ । यहाँ श्रमको अर्थ त्यस विषयलाई पटक–पटक सतर्कतापूर्वक दोहोर्याउनु हो । सतर्कतापूर्वक दोहोर्याउनुको अर्थ हो, तपाईंंले विषयलाई पहिलोपटक पढिरहनुभएको छ भन्ने ठान्नु हो । यदि दोहोर्याउँदा यसो गरिएन भने तपाईं भ्रममा पर्न सक्नुहुन्छ । दोहोर्याउनुको अर्थ एक प्रकारले बढार्नु पनि हो । एकपटक बढारेको कोठालाई पुन: बढार्दा फोहोर निस्किंदैन ? तेस्रो वा चौथोपटक पनि बढार्दा के फोहोर निस्किंदैन ? अवश्य निस्कन्छ तर हरेकपटक त्यसमा कमी आउँदै जान्छ । दोहोर्याउनु भनेको दिमागको अध्ययन कक्षमा पटक–पटक बढार्नु हो ।
यहाँनिर विद्यार्थीहरूको मनमा प्रश्न उठ्न सक्छ धेरै कुरा पढ्नुछ । कुन विषयलाई, कुन बेला र कतिपटक दोहोर्याउने ? तपाईंको जिज्ञासा सही हो तर दोहोर्याउनु यस कारण पनि आवश्यक छ कि तपाईं त्यसलाई नबिर्सनुहोस् र त्यस विषयप्रति तपाईंको बुझाइ बलियो होस् । जहाँसम्म बिर्सने कुरा छ, यस सम्बन्धमा वैज्ञानिक एपिंग हासले गरेको एक अध्ययनले के देखाएको छ भने हामी कुनै कुरालाई निम्न प्रतिशतमा बिर्सदैं जान्छौं । २० मिनेट पछि ४७ प्रतिशत, एक घण्टापछि ५३ प्रतिशत, एक दिनपछि ६६ प्रतिशत, ७ दिनपछि ७५ प्रतिशत, एक महिनापछि ७९ प्रतिशत र एक वर्षपछि ९५ प्रतिशत बिर्संदै जान्छौं । त्यसपछि स्मृतिशेष मात्र रहन्छ तर विद्यार्थीहरूले बुझ्नु के पर्छ भने यो बिर्सने प्रतिशत सूचनाको हो, ज्ञानको होइन । यदि तपाईंले सूचनालाई ज्ञानमा परिवर्तन गर्नुभयो भने बिर्सने यो प्रतिशत न्यून भएर जान्छ । वैज्ञानिक एपिंगका अनुसार कुनै पनि पढेका, याद गरिएका वा बुझिएका विषयलाई एक दिनमा त्यस विषयलाई कम्तीमा चारपटक पढ्नुपर्छ । २४ घण्टापछि दोहोर्याउनुपर्छ । बिहान त्यसै विषयलाई ध्यानपूर्वक छिटोछिटो पढ्न सकिन्छ र एक महिनापछि पुन: त्यस विषयलाई ध्यानपूर्वक दोहोर्याउनुपर्छ ।
यसरी गर्दा तपाईंलाई त्यो सूचना ज्ञानमा परिवर्तित भएको महसुस हुनेछ । एक महिनाभित्र त्यो बीउ बिरुवामा परिवर्तित भइसकेको हुनाले धेरै हेरचाहको आवश्यकता पर्दैन । तर, यसको अर्थ त्यस विषयलाई त्यसै छाडिदिनु पनि होइन । त्यस विषयलाई दुई, तीन वा चार महिनापछि दोहोर्याउने भन्ने कुरा अब तपाईंको क्षमतामाथि निर्भर गर्दछ । तर, मेरो सुझाव के छ भने त्यसलाई बीच–बीचमा दोहोर्याउँदै जानुपर्छ । यहाँ दोहोर्याउनु भनेको सरसर्ती पढ्नु नै पर्याप्त हुनेछ । यस क्रमलाई विद्यार्थीहरूले परीक्षा नहुन्जेलसम्म कायम राख्नुपर्छ ।
अध्ययनको अन्तिम तह हो, प्रज्ञा अर्थात् विजडम । पढाइको तत्कालिक उद्देश्य परीक्षामा बढी अड्ढ ल्याउनु हो । तर, यसको व्यापक उद्देश्य हाम्रो जीवनलाई सुखमय बनाउनका लागि मदत गर्नु पनि हो । उदाहरणका लागि केमिस्ट्री, फिजिक्स पढ्नुको अन्तिम उद्देश्य इन्जिनियर वा वैज्ञानिक बन्नु हो भने बायोलोजी पढ्नुको अन्तिम उद्देश्य डाक्टर बन्नु हो । यसैगरी हरेक विषय पढ्नुको पछाडि फरक उद्देश्य हुन्छ । आइन्स्टाइनको रुचि गणितमा थियो । यस कारण उहाँले समय र ऊर्जाको सिद्धान्त स्थापित गर्नुभयो । एडिसनलाई फिजिक्सको केही सामान्य सिद्धान्त मात्र थाहा थियो । त्यसैको आधारमा उहाँले धेरै आविष्कार गर्नुभयो । एकपटक आइन्स्टाइनले विद्यार्थीहरूलाई के भनेका थिए भने,“विद्यार्थीहरू, तिमीहरू के ध्यान दिनु भने आफ्नो विद्यालयमा जे नयाँ कुरा सिक्छौं, त्यो पूर्वजहरूको देन हो । यो यस कारण कि तिमीहरूलाई जे सिकाइन्छ त्यसबारे बुझ, त्यसको सम्मान गर र त्यसमा केही बढी नै थप ।”
यसबाट के स्पष्ट हुन्छ भने विद्यालय वा क्याम्पसमा हामी जे कुरा पढ्छौं, त्यो एक प्रकारले कच्चा सामग्री हो । चिनी कारखानामा चिनी उत्पादन हुन्छ, त्यसको कच्चा पदार्थ उखु हो । उखुलाई हेरेर त्यसबाट चिनी उत्पादन हुन्छ वा हुँदैन भन्ने अनुमान गर्न सकिंदैन । यहाँ उखु भनेको सूचना हो, ज्ञान भनेको कारखाना र त्यसबाट निस्कने चिनी भनेको प्रज्ञा हो । यस प्रकार सूचना र ज्ञानको आधारमा जुनबेला हामी कुनै नयाँ वस्तु उत्पादन गर्छौं, त्यो नै प्रज्ञा हो । एउटा विद्यार्थीको रूपमा प्रज्ञाको खास आवश्यकता पर्दैन ।
यसको आवश्यकता त्यसबेला पर्दछ, जुनबेला हामी विद्यालय र क्याम्पसबाट निस्केर व्यावहारिक जीवनमा प्रवेश गर्छौं ।
यस कारण विद्यार्थीहरूले प्रज्ञा सम्बन्धमा चिन्तित हुनुपर्ने आवश्यकता छैन । तर, स्वयंलाई सूचनामा मात्र सीमित राख्नु तपाईंको लागि कुनै पनि हालतमा उचित हुँदैन । यदि तपाईंले त्यसलाई ज्ञानको तहसम्म पुर्याउनुभएन भने जुनबेला तपाईं क्याम्पसबाट बाहिर आउनुहुन्छ, त्यसबेला त्यो सूचना दिमागबाट हराइसकेको हुन्छ । यस्तो स्थितिमा प्रज्ञाको कल्पना गर्नु निरर्थक हुनेछ । त्यसैले अध्ययन कलाको पहिलो चरण सूचनालाई ज्ञानमा परिवर्तित गर्नु हो । मलाई के विश्वास छ भने तपाईंले मैले भनेको कुरा राम्ररी बुझ्नुभएको होला । बुझ्नुभएको छ भने तपाईंले अवश्य पनि परीक्षामा बढी अड्ढ हासिल गर्नुहुनेछ । विस्टन चर्चिलले एकपटक भनेका थिए,“निराशावादीले प्रत्येक अवसरलाई कठिनाइको रूपमा हेर्दछ भने आशावादीले प्रत्येक कठिनाइलाई अवसरको रूपमा हेर्दछ ।”


from लोकसेवा आयोग (old is gold )

0 comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.