कार्तिक ७, २०७३- ‘एभरेस्ट मम्मी’ उपनामले कहलिएकी पहिलो महिला सगरमाथा आरोही जुन्को ताबेईको ७७ वर्षको उमेरमा निधन भएको छ । चार वर्षदेखि क्यान्सरले थलिएकी ताबेईको जापानको साइटामा सहरस्थित क्यान्सर अस्पतालमा उपचारक्रममा बिहीबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ताबेईले ३६ वर्षको उमेरमा २०३२ जेठ २ गते सगरमाथाको चुचुरोमा पहिलो महिला आरोहीका रूपमा पाइला राखेकी थिइन् । उनको त्यो सफलतालाई त्यसताका विश्वभरका महिलाहरूको मुक्तिका रूपमा चर्चा गरिएको थियो ।
७६ वर्ष पूरा गरेको अवसरमा गत वर्षको असोजमा काठमाडौं आएका बेला ताबेईले भनेकी थिइन्, ‘मेरै देशमा पनि त्यसबेला महिलाका धेरै अधिकार थिएनन् । दोस्रो विश्वयुद्धमा पराजित जापानको आर्थिक अवस्था राम्रो नभएका बेला मैले सर्वोच्च शिखर आरोहणको योजना बनाएकी थिएँ ।’ त्यसपछि उनी वैशाखमा मनास्लु र ल्होत्से आरोहणको हीरक महोत्सवमा पनि विशेष अतिथिका रूपमा सहभागी भइन् । सगरमाथा आरोहणपछि दर्जनांै पटक नेपाल आएको तर २० वटा यात्राको मात्र सम्झना रहेको उनी बताउँथिन् ।
परिवारसहित नेपालमा जन्मदिन मनाउन आएका बेला उनले सगरमाथा आरोहणका लागि गर्नु परेको संघर्षका कथा सुनाएकी थिइन् । ‘म सगरमाथा आरोहणका लागि आउँदा तीन वर्षकी जेठी छोरी श्रीमानको भरमा छाडेर आएकी थिएँ,’ २३ वर्षकै उमेरमा अंग्रेजी साहित्यमा स्नातकोत्तर सकेकी उनले भनेकी थिइन्, ‘नाबालिका छाडेर सगरमाथा चढ्न हिँडेकी भन्दै जापानमा मेरो कडा आलोचना गरिएको थियो ।’
सगरमाथा आरोहण गर्न उनले १५ जापानी महिला समेटेर ‘लेडिज क्लाइम्बिङ क्लब’ गठन गरेकी थिइन् । ती महिलाको टोली नेता भएर ०२७ सालमा नेपाल आएकी थिइन् । त्यतिबेला एउटा मात्रै आरोहण दललाई अनुमति दिने नियम भएकाले उनको आरोहण दलले ४ वर्षपछि मात्रै अनुमति पाएको थियो । त्यसबेला उनको
१ करोड ४० लाख रुपैयाँ खर्च भएको थियो । अन्य आरोही साथीहरू अल्टिच्युट सिकेनस र अक्सिजन अभावले ६ हजार १ सय मिटरबाटै फर्किएको तर आफू शेर्पा गाइडको सहयोगमा चुचुरो पुगेको सुनाएकी थिइन् । सगरमाथापछि ताबेईले सातै महाद्वीपका अग्ला चुचुरा चुम्ने पहिलो महिलाको रेकर्ड पनि बनाइन् । उनले स्थापना गरेको हिमालयन एड्भेन्चर ट्रस्टले अहिले पनि खुम्बुलगायत संसारभरका हिमाली क्षेत्रमा संरक्षणको काम गर्दै आएको छ ।
Kantipur batfrom लोकसेवा आयोग (old is gold )
0 comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.